कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक १२)

मौसमी सारांश:

  • गत साताभर मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही केन्द्रहरूमा १००.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। सबैभन्दा बढी कोशी प्रदेशको संखुवासभा जिल्लाको नुम केन्द्रमा 3२४.5 मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी तापक्रम मापन भएका छन्।
  • आगामी साता देशभर नै मनसुनी वायुको सामान्य प्रभाव रहनेछ।
  • हिमाली भू-भागः केही स्थानहरूमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
  • पहाडी भू-भागः केही स्थानहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरू, मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। साथै कर्णाली प्रदेशमा साताको सुरूमा, सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।  
  • तराई भू-भागः कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • देशभर अधिकतम र न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। साताको अन्त्यमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तापक्रम हल्का बढ्ने सम्भावना छ।

मनसुन २०८३ को आगमन अवस्था

  • यस वर्षको मनसुन प्रणाली असार१६ गतेका दिन देशभर (चित्रमा देखाए अनुसार) फैलिएको छ नेपालमा यस वर्षको मनसुन असार  गते देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको केही भू-भागमा विस्तार भएकोमा असार  गते कोशी प्रदेशको बाँकी सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानसम्म विस्तार भएको थियो। नेपालमा मनसुन साधारणतया जुन १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरी एक हप्ताभित्र विस्तार हुने गर्दछ। यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष १२ दिन लागेको छ। 

कृषि सारांश

 

  • भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकैबाली, तरकारी तथा फलफूल बगैँचालगायत प्लास्टिक घर, पशुपन्छीका खोर- गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्।
  • सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा विषादी राख्नैपर्ने भएमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस्। वर्षातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुहोस्।
  • वर्षे धानबालीबाट राम्रो उत्पादन लिन सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउलाई छानी कार्बेन्डाजिमयुक्त विषादी ३.० ग्राम प्रतिकेजी बीउको दरले उपचार गरेर मात्र ब्याड राख्नुहोस्।
  • एक रोपनी जमिनमा वर्षे धान खेती गर्न २५ वर्गमिटर क्षेत्रफलको वा एक कठ्ठाको लागि १५ वर्गमिटर क्षेत्रफलको ब्याड तयार गर्दा राम्ररी पाकेको गोबरमल/कम्पोष्ट मल २०-२५ डोको प्रतिकट्ठा वा ३०-३५ डोको प्रतिरोपनीका दरले माटोमा राम्ररी मिलाइ १.६ केजी बीउ प्रतिकट्ठा वा २.५ केजी बीउ प्रतिरोपनीका दरले (१० वर्गमिटरमा १ केजी बीउका दरले) प्रयोग गर्नुहोस्।
  • कोदो बालीबाट राम्रो उत्पादन लिन ठाउँअनुसार सिफारिस गरिएका कोदोका जातहरूको ब्याड राख्नुहोस्।
  • सुन्तलाजात तथा बर्खे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्।
  • बिहान सबेरै आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्यबिहान र बेलुकीपख मात्र टिप्नुहोस्।
  • आँपको रुटस्टक तयारी अवस्थामा छ भने इपिकोटायल ग्राफ्टिङ्ग सुरु गर्नुहोस्।
  • सुन्तलामा लाग्ने धुले ढुसी रोग (Powdery mildew) को व्यवस्थापनको लागि रोगग्रस्त हाँगाहरु काँटछाँट गरी वगैंचाको सरसफाई गर्नुहोस् सल्फरयुक्त विषादी ८०% डव्लुपी वा थायोफेनेट मिथायल ५०% डब्लुपी २ ग्राम प्रतिलिटर पानीको दरले १०-१५ दिनको फरकमा २-पटकसम्म छर्केर उपचार गर्नुहोस्
  • सुन्तलाजातको फलफूल बालीहरूमा पात खन्ने (Leaf miner) कीराको नोक्सानी कम गर्न ४ भाग पानीमा गाईको गहुँत वा निमको पातको झोल १ भाग मिसाइ ५ दिनको फरकमा ३ पटक छर्नुहोस्। साथै व्यावसायिक खेती गर्ने कृषकहरूले रोगर इमामेक्टिन बेन्जोएट ५% एसजी, ०.४ ग्राम प्रतिलिटर पानीमा घोलेर ७ दिनको फरकमा ३ पटक छर्नुहोस्।
  • प्लाष्टिक घरमा खेती गरिएको गोलभेँडामा पात खन्ने कीराले क्षति धेरै गरेमा क्लोरएन्ट्रानिलिप्रोल १८.% एससी वा स्पिनोस्याड ४५% एससी   एमएल प्रति ३ लिटर पानीमा मिसाएर छर्नुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो प्रयोग गर्नुहोस्।
  • खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग लाग्नबाट बचाउनका लागि पानी निकासको उचित प्रवन्ध गर्नुहोस्, रोगी बोटहरू हटाउनुहोस्। प्रकोप भएमा कपरयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाइ ७-१० फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरी ड्रेन्चिङ गर्नुहोस्।
  • वर्षातको समयमा पशुचौपायाको खुट्टाको कापतिर घाउ हुने, पाक्ने, औँसा पर्ने, खुर कुहिने आदि समस्या देखिन सक्ने हुँदा पशुचौपायाको हिँडडुल, चाल आदिको राम्रो निरीक्षण गरी समयमै भेटेरिनरी प्राविधिकसँग सम्पर्क राख्नुहोस्। साथै पशुचौपायालाई हिलो र ओसिलोबाट जोगाउनुहोस्।
  • हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
  • भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूका माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। साथै, माछा बगेर जान नदिन निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाउनुहोस्।
  • वर्षातको समयमा माछापोखरीको पानीको पिएचलाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पिएच ६.५ भन्दा कम भएमा चून १५ केजी प्रतिकठ्ठाको दरले प्रयोग गर्नुहोस्।
  • मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि बजेसम्म फोन गर्नुहोस्।