कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक १८)
- गत साताभर मनसुनी वायुको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। बागमती, गण्डकी र कोशी प्रदेशका थोरै केन्द्रहरूमा १००.0 मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका अधिकांश केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लाको लुम्ले केन्द्रमा १७९.१ मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका अधिकांश केन्द्रहरूमा साप्ताहिक औसत अधिकतम तापक्रम र साप्ताहिक औसत न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी मापन भएका छन्।
- देशभर नै मनसुनी वायूको प्रभाव रहने छ। साताको सुरूमा मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर तथा पूर्वमा सरदरको आसपास नै रहने सम्भावना छ। साताको मध्यमा देशभर सरदर स्थानकै आसपास रहने, साताको अन्त्यमा पूर्वी भू-भागमा सरदरभन्दा केही माथि रहने सम्भावना छ।
- हिमाली भू-भागः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशमा साताको सुरूमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। साताको शुरू, मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः कोशी र बागमती प्रदेशमा साताको सुरूमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको शुरू, मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा थोरै स्थानमा, अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- तराई भू-भागः कोशी र मधेश प्रदेशमा साताको सुरूमा थोरै स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताभर केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको शुरू र मध्यमा, गण्डकी प्रदेशमा साताको शुरू, मध्य र अन्त्यमा र बागमती प्रदेशमा साताको मध्य र अन्त्यमा मात्र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- साताको शुरूमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
कृषि सारांश
- धानबालीमा हरियो मलको रूपमा तयार भएको एजोला २० केजी प्रतिकठ्ठा वा ३० केजी प्रतिरोपनीका दरले प्रयोग गर्नुहोस्। एजोला वृद्धिको लागि कम्तीमा १० दिनसम्म धानखेतमा पानीको गहिराइ ५-१० सेमी कायम गर्नुहोस्, साथै खेतबाट पानी तथा एजोला बगेर जान नदिनुहोस्।
- असार महिनामा लगाइएको र खेतमा राम्रोसँग ढाकेको अवस्थाको एजोलालाई धानको पहिलो गोडाइमा राम्रोसँग माटोमा मिलाउनुहोस्।
- धानबालीमा झारपात व्यवस्थापनको लागि बिस्पाइरिबेक (Bispyribac Sodium 10 % SC) २५ लिटर पानीमा १२ एमएलको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एमएलको दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरू उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रतिलिटर पानीमा मिसाइ ८-१० दिनको फरकमा २-३ पटक बोट भिज्नेगरी छर्कनुहोस्।
- धान रोपेको २५-३० दिनपछि (गाँज आउने समयमा) नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस गरिएको मात्रा अनुसार युरिया टपड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रुपमा नानो झोल युरिया ४ एमएल प्रतिलिटर पानीमा मिसाइ सम्पूर्ण पात भिज्नेगरी टपड्रेस गर्ने समयमा छर्कनुहोस्। धानमा टपड्रेस गरिसकेपछि कम्तीमा २४ घण्टासम्म खेतबाट पानी बग्न नदिनुहोस्।
- सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस्। वर्षातको समयमा विषादी छर्कँदा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुहोस्।
- स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्णरुपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्ने गर्नुहोस्।
- स्टोन/इपिकोटायल विधिबाट कलमी गरेको आँपको नर्सरीमा ८०-९० प्रतिशतभन्दा कम आर्द्रता भएमा बेला-बेलामा पानी छर्किनुहोस्। साथै कलमी गरेको भागभन्दा तलबाट पलाएका मुनाहरू हटाउनुहोस्।
- मध्यपहाडका बारी जग्गामा भदौमा रोप्नको लागि जनकदेव, डेजिरे, कार्डिनल, खुमल सेतो-१, खुमल लक्ष्मी, खुमल उज्वल, खुमल उपहार, खुमल विकासमध्ये उपलब्ध जात शीत भण्डारबाट निकाली उज्यालो प्रकाश आउने ठाँउमा फिँजाएर हरियो टुसा आउन दिनुहोस्।
- रायोबालीका मनकामना, खुमल चौडा पात, खुमल रातो पात आदि जातहरूको नर्सरी राख्दा पानी जम्ने नबनाउनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२० सेमी) अग्लो र १ मिटर चौडाइको व्याड बनाइ ४ अंगुल (५ सेमी) को फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्।
- तराई तथा मध्यपहाडमा चालीस दिने र मिनो अर्ली जातको मुला लाइनदेखि लाइनको दूरी ४५ सेमी र बोटदेखि बोटको दूरी २५ सेमी हुनेगरी, २-३ सेमीको गहिराइमा रोप्नुहोस्।
- मध्यपहाडी जिल्लाहरूमा सिमी र बोडीको बीउ उत्पादनका लागि सिफारिस गरिएका जातका बीउहरू मौसमको अवस्था हेरी ड्याङ उठाएर मात्र रोप्नुहोस्।
- खुर्सानीबालीमा ढुसीको कारण बोट ओइलाउने रोग (फाईटोप्थोरा) लागेमा पानी निकासको उचित प्रवन्ध गर्नुहोस्, रोगी बोटहरू हटाउनुहोस्। प्रकोप भएमा कपरयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाइ ७-१० फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि छर्कनुहोस्।
- वर्षातको समयमा गाईभैँसी र भेडाबाख्रामा चरचरे रोग देखा पर्नसक्ने र सो रोगले उच्च ज्वरो समेत आउने हुँदा यसको उपचारको लागि पेनिसिलिन औषधीको सुइ प्राविधिकको सहयोगमा १०,००० IU प्रतिकेजी शारीरिक तौलअनुसार मासुमा ५-६ दिनसम्म लगातार लगाउनुहोस्।
- पशुचौपायामा किर्नाको समस्या बढेको कारण विभिन्न रक्त परजीवीहरूको संक्रमण बढ्ने हुँदा पशुचौपायालाई उक्त रोगबाट जोगाउन बेरिनिल वा निलबेरी समूहको औषधी ८-१६ एमजी प्रतिकेजी शारीरिक तौलअनुसार प्राविधिकको सहयोगमा १ पटक लगाउनुहोस्।
- हाल सुँगुर/बंगुरहरूमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्दै गरेको हुँदा फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। रोगी बंगुरलाई अलग राख्ने, बंगुरको ओसारपसार तथा आवतजावतमा नियन्त्रण गर्ने र गोठ सरसफाइमा ध्यान दिनुहोस्।
- भल पानीसँगै आइमेरिया रोगका विजाणु बगेर आउने, ट्राउट माछा पालन गरेको रेसवे पोखरीहरूमा मिसिन सक्ने र ट्राउट माछामा पहेँलो छेर्ने रोग देखिनसक्ने हुँदा भल तर्काउनुहोस्। रोग देखापरेमा टोल्ट्राजुरिल १५ एमजी प्रतिकेजी माछाको शारीरिक तौलका दरले दानामा औषधी मिसाइ खुवाउनुहोस्। यो औषधी जम्मा ७ दिन (पहिलो, दोस्रो, तेस्रो, छैठौँ, सातौँ नवौँ र दशौँ दिनमा) दानामा मिसाइ खुवाउनुहोस्। साथै रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न भिटामिन-सी ०.५ ग्राम प्रतिकेजी दानाको दरले १५ दिनसम्म लगातार खुवाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

